मनोेज शाह
जीतपुर,सरकारले सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य सञ्चालन गर्ने निर्णय गरेको भएपनि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ (छातापिप्रा) मा उक्त निर्णयको उल्लङ्घन भएको पाइएको छ ।तोकिएको समयमा नै कर्मचारीहरु उपस्थित भएर कार्यालय संचालन नगर्दा सेवाग्राहीहरुले सास्ति बेहोर्नु परेको छ । ९ बजेबाट नै सेवा सुचारु गर्नुपर्नेमा वडा कार्यालयका कर्मचारीहरुले बिहान १० बजेपछिमात्रै कार्यालय खोल्ने गरेको पाइएको हो ।

सोमबार बिहान सेवाग्रहीहरू साढे १० बजेसम्म कार्यालय पुग्दा पनि वडा कार्यालय बन्द नै भेटिएको थियो ।
कर्मचारी समयमै उपस्थित भएर सेवा संचालन नगर्दा आफूहरु समस्यामा परेको बिहान ९ बजे नै सेवा लिन भनेर कार्यालय पुग्नुभएकी छातापिपराकी मुन्ना गुप्ताले बताउनुभयो । “हामी डेढ घण्टादेखि यहाँ बसेका छौँ, तर काम गर्ने कुनै पनि कर्मचारी आएका छैनन् । हामी निकै पीडित भएका छौँ ।”
त्यस्तै अर्की सेवाग्रही शोभा शनीले पनि कर्मचारीहरुको लापरवाहीले आफूहरु पीडित बन्नुपरेको बताउनुभयो । “घरमा बालबच्चा छोडेर कामका लागि कार्यालयमा आएका हौँ । छिटो काम सकेर फर्किने उद्देश्य थियो, तर यहाँ त अझै कर्मचारी आएका छैनन् । यस्तो हुँदा हैरानी मात्रै भएको छ ।” उहाँले भन्नुभयो ।कर्मचारीहरु समयमै कार्यालय नपुगेपछि केही सेवाग्राहीहरुले घटनाबारे जानकारी गराउन सञ्चारकर्मीहरूलाई समेत बोलाएका थिए । तर, कार्यालयमा पुगेर वडा कार्यालयको अवस्थाबारे प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई जानकारी गराउन खोज्दखा उहाँसँग सम्पर्क हुन सकेन । निरौलाले फोन नै नउठाएको जनाइएको छ ।

यता वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल यादवले भने सबै कार्यालयका कर्मचारी “टुरमा गएको” जानकारी दिनुभयो । तर, कार्यालयमा कुनै सूचना टाँस नगरी सेवा नै ठप्प पारेर कर्मचारीहरु भ्रमणमा गएको घटनाप्रति स्थानीयवासीले थप असन्तुष्टि जनाएका छन् ।स्थानीय भोला चौधरीले भन्नुभयो, “जनताको काम छोडेर कर्मचारीहरू जथाभावी भ्रमणमा जाने कार्य गलत हो । कम्तीमा सूचना त दिनुपर्ने हो । यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन समयसीमा तोकेको भए पनि केही स्थानीय तहमा त्यसको पालना नहुँदा सेवाग्रहीहरू मारमा पर्दैआएाक छन ।

Leave a Reply