निजगढ,स्थानीय बासिन्दामा मोतियाबिन्दुको निवारण गरेर निजगढलाई ‘अन्धोपन शुन्य’ नगरपालिका बनाइने भएको छ ।निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच मोतियाविन्दुका कारण हुने अन्धोपन निवारण गर्न संझौता भएपछि निजगढ ‘अन्धोपन शुन्य’ पालिका बन्ने भएको हो ।निजगढ नगरपालिकाको कार्यालयमा हिजो भएको संझौताअनुसार निजगढका सबै नागरिकहरुमा मोतियाबिन्दुको उपचार गरेर अन्धोपन शुन्य पालिका बनाउन तिलगंगा आँखा अस्पतालसंग संझौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । नगरका सबै घरधुरीमा पुगेर स्वास्थ्यकर्मीहरुले मोतियाविन्दुको जाँचपडताल र उनीहरुको तीलगंगा आँखा अस्पताल निजगढमा राखेर उपचार गर्ने गरी संझौता भएको उहाँले बताउनुभयो ।
संझौता अनुसार अस्पतालले आगामी शुक्रवारदेखि रतनपुर क्षेत्रबाट स्थानीयमा मोतियाविन्दुको पहिचान गर्न आँखा चेकजाँच शुरु गर्ने भएको छ । सो कार्यक्रम अन्तर्गत मोतियाबिन्दुका बिरामीहरुको पहिचान गर्न नगरपालिकाले आवश्यक जनशक्ति परिचालन गर्न अस्पताललाई वार्षिक २ लाख ८० हजार रकम सहयोग उपलब्ध गराउने र तीलगंगा अस्पतालले बिरामीहरुको पहिचार गरेर औषधोपचार गर्ने जनाइएको छ ।संझौतामा नेपाल आँखा कार्यक्रम, तीलगंगा आँखा अस्पतालका वरिष्ठ मानव संसाधन व्यवस्थापक मुकेश सिंह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले हस्ताक्षर गर्नुभएको छ ।यसैबीच वरिष्ठ मानव संसाधन व्यवस्थापक सिंहले निजगढ तीलगंगा आँखा अस्पताल निजगढबासीको लागि गौरवको संस्था भएकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । अस्पतालमा स्थानीय संचारकर्मीहरुसंग कुरा गर्र्दै व्यवस्थापक सिंहले सो कुरा बताउनुभएको हो । सो अवसरमा निजगढ तीलगंगाका व्यवस्थापक सुधीर श्रेष्ठले अस्पतालले निजगढमा संचालन गरेको सेवाको बारेमा जानकारी गराउनुभएको थियो ।

















