सिमरा,तीन वर्षदेखि मलेसियाको जेलमा बन्दी जीवन बिताइरहनुभएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय विनय केसीलाई उद्धार गरी सिमरा ल्याइएको छ । आप्रवासी हकहित संजाल बाराको सक्रियतामा केसीलाई उद्धार गरेर सिमरा ल्याइएको हो ।सन २००२ मा मलेसिया पुगेका केसी पछिल्लो तीन वर्षदेखि पेनाङस्थित जेलमा रहनुभएको थियो । मलेसिया पुगेको तीन वर्ष पेनाङमै रहेको एक कम्पनीमा कार्यरत केसी त्यसयता लुकेर काम गर्दै आउनुभएको थियो ।१७ वर्ष मलेसियाको विभिन्न कम्पनीमा काम गरेका उनले तीन वर्षअघि प्रहरीसामु आत्मसमर्पण गर्नुभएको थियो । रोजगारदाता कम्पनीले पासपोर्ट फिर्ता नदिएपछि आफू लुकेर लामो समय काम गरेको र तीन वर्षअघि आफैले प्रहरीसामु गएको केसीले बताउनुभयो । प्रहरी सामु नगएसम्म नेपाल फर्किने अवस्था नभएपछि जेलमा गएको र तीन वर्ष जेल जीवन बिताएपछि मात्रै आफू नेपाल आउन सफल भएको बताउनुभयो ।केसी जेलमा रहेको जानकारी पाएपछि आप्रवासी हकहित संजालले रिहाइका लागि पहल थालेको थियो । नेपाली राजदुताबासमार्फत केसीको नाम प्राप्त भएपछि व्यक्ति पहिचान गरी रिहाका लागि पहल गरेको संजाल बाराका अध्यक्ष रुद्र खतिवडाले जानकारी दिनुभयो ।संजालले सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलाई भेटेर केसीलाई उद्धार गरिएको जानकारी गराउदै नेपालमै जीविकोपार्जनका लागि वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । दुुई दशकभन्दा बढी मलेसियामा रहेका केसीसंग हाल नागरिकता पनि नरहेको हुँदा नागरिकता बनाउनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्ने भन्दै संजाल अध्यक्ष खतिवडाले ध्यानाकर्षण गराउनुभएको छ ।नगर उपप्रमुख अधिकारीले केसीलाई उद्धार गर्न पहल गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै जीविकोपार्जनका लागि उपमहानगरपालिकाको कार्यालयले काम गर्ने बताउनुभयो । बैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई लक्षित गरी उपमहानगरपालिकाले योजना संचालन गरिरहेको बताउदै उपप्रमुख अधिकारीले उच्च मनोबलका साथ अघि बढ्न केसीलाई हौसला प्रदान गर्नुभयो । ।

Leave a Reply