सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिका– ४ गुलरिया नजिक नेपाल–भारत सीमाको दसगजा क्षेत्रनजिक बसोबास गर्दै आएका नेपाली नागरिक वाल्मीकिप्रसाद यादवले भारतका केही मान्छेहरुले आफ्नो जमिन हडप्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

तीन पुस्तादेखि जोतभोग गर्दै आएको आफ्नो जमिनमा भारतको ग्राम जोलगाव निवासी ललितेश्वर यादव, ग्राम बडेला निवासी हरिशंकर यादव, मङ्नी राय यादव, चन्दन कुमार, रामप्रवेश यादव र शम्भु यादवलगायतले कब्जा गर्ने प्रयासको उहाँले बताउनुभएको छ ।करिब दुई वर्षदेखि सो समूहले आफ्नो जग्गामा उनीहरु बलजफ्ती प्रवेश गरी कब्जा गर्ने प्रयास गर्दैआएको र प्रतिरोध गर्दा उल्टै “ज्यान मार्ने धम्की” समेत दिएको यादवको आरोप छ ।
“हामीसंग जग्गा जोतभोगको पुरानो प्रमाण छ । भारत र नेपालको सम्बन्धित प्रशासनले समेत हाम्रो पक्षलाई स्वीकृति दिएको छ, बाल्मिकीका बुवा राजदेवले भन्नुभयो, तर पनि समय समयमा आएर भारतीय भूमाफियाको समूहले जग्गा कब्जा गर्ने प्रयास गरिरहेका छन ।”

पीडित पक्षले आफ्नो जिउधन र सम्पतिको सुरक्षाको पचरौता नगरपालिकास्थित बेल्दारी प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीमा पटक–पटक लिखित जानकारी गराएको भएपनि हालसम्म कुनै कारबाही नभएको र केवल आश्वासन मात्र पाएको गुनासो गरेको छ ।राजदेवले आफ्नो हकभोग र अधिकारमा रहेको पुर्खौली सम्पत्ति कब्जा गर्ने भारतीय पक्षको प्रयास रोक्न पहल गरेर आफूहरुलाई न्याय दिलाउन नेपालका सरोकारवाल निकायसंंग अनुरोध गर्नुभएको छ ।

Leave a Reply