सिमरा,पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अन्य दशजना घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना. ६ ख. ४६४१ नम्बरको बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी ४९ बर्षीय धर्मराज रेग्मी भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

तीव्र गतिमा आइरहेको बस राजमार्गस्थित चुरियामाईको ओरालोमा ब्रेक फेल भइ सोही स्थानमा दुर्घटनामा पर्नेक्रममा विपरित दिशाबाट आइरहेको प्रदेश ०३– ००१ प.४११ नम्बरको मोटरसाइकलमा पनि ठोक्किएको र सो क्रममा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कै इन्द्रबहादुर कार्की घाइते भएको र उनको अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । सो दुर्घटनामा परी बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ बस्ने २१ वर्षका सुरज चौधरी, सोही स्थानका २८ वर्षका रामप्रवेश राम, सोही स्थानकी ५७ बर्षीय देवकी पन्त, बिहारीलाल चौधरी, रौतहटको बिजयपुरका ३४ वर्षका गान्धी दास, कोल्हवीकै ३९ वर्षका बीरेन्द्रप्रसाद चौधरी र सोही ठाउँकै १९ वर्षका रोहणबहादुर अधिकारी घाइते भएको तथा घाइते भएका मध्ये बिहारीलाल बाहेक सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको र बिहारीलाललाई भने उप उपचारका लागि चितवन पठाइएको पनि प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here