मनोज शाह
जीतपुर,२०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सर्वदलीय दलित समाज जीतपुरसिमरा नगर समितिको समन्वय तथा उपमहानगरपालिकाको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपालमा सबै जातजातिलाई समान सम्मानका साथ बाँच्ने अधिकार सुनिश्चित रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, समानता र एकताको मार्गमा सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले गर्नुभएको थियो । आफ्नो मन्तव्यमा उहाँले जातीय विभेद अन्त्यका लागि स्थानीय तह प्रतिबद्ध रहेको र दलित समुदायको अधिकार संरक्षण तथा सशक्तीकरणका लागि निरन्तर काम गरिने बताउनुभयो ।कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरू तथा अन्य वक्ताहरूले दलित समुदायप्रति सम्मान, समान व्यवहार र सामाजिक न्याय सुनिश्चित गर्दै सबै समुदायलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले जातीय विभेदको अन्त्य केवल कानुनी व्यवस्थाले मात्र नभई सामाजिक चेतना र व्यवहार परिवर्तनबाट सम्भव हुने धारणा व्यक्त गरे ।

बाल विकास शाखा प्रमुख सीमा यादव का अनुसार सयौं व्यक्तिको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा समाजका विभिन्न तह र क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।कार्यक्रममा सहभागी वक्ताहरूले जातीय भेदभाव तथा छुवाछुतमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता, सहकार्य र सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।

Leave a Reply