निजगढ,दुई दिनदेखिको लगातार परेको बेमौसमी वर्षाले कृषिबालीमा क्षति पु¥याएपछि बाराका किसानहरू चिन्तित बनेका छन ।जिल्लाको सबै क्षेत्रमा हिजो बिहानदेखि फाटफुट रुपमा शुरु भएको वर्ष आज दिउसोबाट तीव्र बनेको छ ।
मनसुन सकिएपछि भएको यो वर्षाले किसानलाई धान भित्र्याउने समस्या मात्रै गरेको होइन, तोरी, मुसुरोलगायत रविबाली लगाउन र लगाइसकेको बालीमासमेत क्षेति पुग्ने किसानहरुको चिन्ता छ ।

अहिलेको पानीले रविबाली र तरकारीमा क्षति गर्ने कोल्हबी नगरपालिका वडा नम्बर ११ थस्कौलका किसान रामसुरत चौधरीले बताउनुभयो ।दशैपछिको वर्षालाई बाराको चेरवन्त क्षेत्रमा ‘चित्रा’ भनिने यो वर्षाले लगाइसकेको बाली राम्ररी उम्रिन नसक्ने र उम्रेका बिरुवाको पनि पात सुकेर मर्ने किसान चौधरीको अनुभव छ । ‘चित्रा वर्षाको पानी तितो हुन्छ, उहाँले भन्नुभयो, यो तरकारी र अन्यबालीको लागि विष सरह हो ।’ चौधरीले ‘चित्रा’ले नदी र पोखरीको माछालाई पनि असर बताउनुभयो । ‘चित्रा वर्षा हुनथालेपछि नदीका माछाहरुसमेत भागेर दक्षिणतर्फ लाग्छन, उहाँले भन्नुभयो, यो पानीको स्वाद पनि तितो हुन्छ ।’ त्यसैगरी दशैअघिको वर्षालाई बुढापाका किसानहरुले ‘अथिया’ भन्ने गरेको सुनाउदै उहाँले ‘अथिया’ ले भने बाली सप्रिने र उत्पादन पनि वृद्धि गर्ने बताउनुभयो ।

त्यसैगरी निजगढ ९ का किसान मानबहादुर श्रेष्ठले पनि वर्षाका कारण किसानहरुले खेतमा काटेर राखेको धानबाली भित्र्याउन नपाएको बताउनुभयो । उहाँका अनुसार गाउँका धेरै किसानले धान काटेर खेतका गहरामा फिजाएका छन । तर, पानी परेकाले भिजेर धानमा क्षति भएको उहाँले बताउनुभयो । त्यस्तै किसानहरुले पाकिसकेको धान पनि काट्न पाएका छैनन । वेमौसमी वर्षाले पाकेको धान र तरकारी बालीहरूमा ठूलो क्षति पुगेको श्रेष्ठको भनाई छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ । यसको प्रभावले पर्सि शनिबारसम्म मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भरे राति कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा ठूलो हिमपातको साथै कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो ।

Leave a Reply