काठमाडौं,सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।
उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।
ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।
सरकारले जेनजी स्मारक पार्क बनाउने
काठमाण्डौं,सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ ।जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।
उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयोे, ‘जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भएको छ। तर, ठाउँ अहिले यकिन भइसकेको छैन। ‘हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।



















