रौतहट,रौतहटको सदरमुकाम गौर स्थित वाणेश्वर महादेव मन्दिर क्षेत्रमो उत्खननको क्रममा ६५० वर्ष पुरानो इँटाहरू फेला परेको छ ।गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्व विभागको टोलीले पछिल्लो ११ दिनदेखि गरिरहेको उत्खनन कार्यमा ६५० वर्ष पुरानो इँटा लगायत भग्नावेश भेटिएको हो ।
महादेव मन्दिरको पछाडि र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरि सिंह देवको समयका इँटाहरू बरामद भएको छ । उत्खननमा माटोको गाग्री, घोडाको मुकुट, खेलौना लगायतका सामग्री बरामद भएको छ । पुरातात्त्विक विद देवेन्द्र तिवारीका अनुसार उत्खननमा धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएको छ । चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरू २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको छ । कुनै कुनै इँटामा औँलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाइएको झन्डै ६५० वर्ष पुरानो इँटासँग मेल खाने पुरातत्त्व बिद तिवारीले स्पष्ट पार्नुभएको छ ।
उत्खननको क्रममा माटोका पुतलाहरू प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद्ध बस्ती भएको अनुमान गरिन्छ । मेयर शम्भु साहले बाणेश्वर मन्दिर, शिवालय मन्दिर र सोवर्णामाई मन्दिर ऐतिहासिक भएकाले उत्खननमा महत्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।उहाँले ६५० वर्ष पुरानो ऐतिहासिक महत्वका भग्नावशेषहरू फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने बताउनुभएको छ ।