सिमरा, ९ भदौ
नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टाँगियावस्तीमा विधुत मिटर जडान गर्ने प्रक्रिया सुरु गरेको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्तावित क्षेत्रको रुपमा रहेको टाँगियाबस्तीका उपभोक्ताहरुलाई प्राधिकरणले विधुत सुविधा उलपब्ध गराउन लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टाँगियाबस्तीमा विधुतीकरण हुन सकेको थिएन् । विमानस्थल निर्माण हुने चर्चा चलेसंगै बस्तिमा विद्युतसंगै स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका अन्य पूर्वाधारको सुविधाबाट समेत स्थानीय बन्चित हुदै आएका छन । यसअघि विद्युतीकरणको लागि प्राधिकरणले ठेक्कामार्फत सुरु गरेको पोल र तार तान्ने काममा डिभिजन वन कार्यालय बाराले रोक लगाएको थियो ।
विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टाँगियाका स्थानीयलाई विधुत सेवा उपलब्ध गराउनका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा विधुतीकरण भएको हो । विधुतीकरण सुरु हुनुअघि उर्जामन्त्री पम्फा भुषाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले बस्तिको निरिक्षण गरेको थियो ।
पहिलो चरणमा विधुतीकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अहिले मिटर जडानको प्रक्रिया सुरु गरेको हो । मिटर जडानका लागि एक सय रुपैया तिरेर सिमरा वा निजगढस्थित उपवितरण केन्द्रको कार्यालयबाट आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।