निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले अवैध रुपमा सालको रुख कटान गरी ट्याक्टरमा राखेर चिरान काठ ल्याउदै गरेको अवस्थााम दुई जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर–४ पुरानो निजगढ बस्ने ३० वर्षीय राजकुमार चौधरी र एक जना १२ वर्षीय बालकलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक संजय यादवको नेतृत्वमा गएको टोलीले ७ फिट लम्बाई, ४ ईन्च चौडाई, ३ इन्च मोटाई भएको १६ थान चिरान सालको काठसहित उनीहरुलाई बिहीवार बिहान ६ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

जंगलबाट अवैध रुपमा कटान गरेको रुख घरमा राखेर चिरान गरी फेन्टा बनाएर बिक्रीको लागि निजगढ बजारतर्फ ल्याउदै गरेको अवस्थामा ट्याक्टरसहित उनीहरुलाई निजगढ नगरपालिका वडा नम्बर– ८ खयरघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक भने फरार भएका छन् । अन टेस्ट लेखिएको ट्याक्टरमा ना ५ त १०७ नम्बरको टेलर जोडेर काठ ल्याउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । बरामद गरिएको काठ, ट्याक्टर सहित दुवैजनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरामा बुझाइएको निजगढ प्रहरीले जानकारी दिएको छ ।

४१ वटा सामुदायिक वन, ४ वटा साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन र निजी वनसहित बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र छ । वन क्षेत्रभित्रै घना वस्ती बसेको र बाटोघाटोको विस्तारले वन क्षेत्रबाट अवैध रुख कटानी गरी काठ तस्करी हुने गरेको छ ।

Leave a Reply