कलैया,सुख्खा मौसमको सुरुवातदेखि सुरू भएको वन डढेंलोले बारामा घाटगद्दी गरी राखिएको हजारौं क्युफिट काठ जोगाउनै मुस्किल भएको छ । जसको कारण निजगढ–काडमाडौं द्रुतमार्ग निमार्णका क्रममा उत्पादन भएको कछडिया र नागमणी सामुदायिक वन र जनजागृति सामुदायिक वन समुहको काठ जलेर नष्ट भएको छ भने जंगलमै घाटगद्दी गरेर राखिएको सालका मुढा जोगाउन मुस्किल भएको हो । डिभिजन वन कार्यालय बाराका प्रमुख वन अधिकृत मञ्जुर अहमदले कछडिया र नागमणी सामुदायिक वनमा मात्रै एक हजार सेफ्टी भन्दा बढी काठ पूर्णरुपमा जलेर नष्ट भएको बताउनुभयो । केही काठहरू लिलाम गरेर ठेकदारले उठाउन नसकेको पनि जलेको उहाँले जानकारी दिनुभयो । रतनपुरमा घाटगद्दी गरेको सालको काठ आगलागी हुदाँ तत्काल दमकल र कर्मचारीले निभाउन सफल भएको उहाँले बताउनुभयो । बाराको कुल भू–भागको ३६ दशमलब ४२ अर्थात ४७ हजार एक सय ८२ हेक्टर क्षेत्रफल वनले ओगटेको छ। जसमा करिब १३ हजार हेक्टर क्षेत्रफल राष्ट्रिय वन, १६ हजार हेक्टर क्षेत्रफलमा पर्सा राष्ट्रिय निकुञ्ज सहित ४१ ओटा सामुदायिक, चार ओटा साझेदारी र दुई सय १६ ओटा निजी वन छन्। बाराका प्रमुख वन संरक्षण अधिकृत अहमदले देशभरकै तथ्यांक हेर्दा सबैभन्दा धेरै बारा जिल्लाको वन क्षेत्रका डढेलोको घटना भएको जनाउनुभयो । वन कार्यालयका अनुसार सामुदायिक र साझेदारी वनमा गरी बारामा एक लाख सेफ्टी सालका काठ र केही दाउरा जंगलमै थुपारेर राखिएको छ। यसवर्ष चैत पहिलो सातादेखि सुरू भएको वन डढेलो बैशाख १५ गतेसम्म रहने अनुमान गरिएको छ। लगातार दुई सातासम्म लागेको आगलागीको कारण पर्सा राष्ट्रिय निकुञ्जभित्रका चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तुहरूको बासस्थान जलेर नष्ट भएको छ।आगलागीबाट वन्यजन्त पनि हताहती भएको प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनुभयो । यो प्राकृतिक रुपमा भएको डढेलो त हुँदै होईन। मान्छेको लापरवाही र केही ठाँउमा नियोजित रुपमा पनि लगाइएको छ’ साहले भन्नुभयो ,‘कतिपय अवस्थामा निकुञ्जप्रतिको आक्रोशका कारण पनि व्यक्तिले सनकका भरमा आगो लगाइदिने प्रवृति पनि छ।जस्ले गर्दा जंगलामा आश्रित सयांै प्रजातिका प्राणीहरू हताहत भएका छन।’ चैत पहिलोसाता निकुञ्ज वरपरबाट सुरू भएको आगलागीको घटनामा भागदौड गर्दा एकैदिन चार ओटा वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन ्।