दुष्यन्त चौधरी
बारा,हालैमात्र बाराको विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हाल्नुभएका सुनिलप्रसाद केशरीले सुशासन कायम गर्ने र पालिकाको सेवा प्रवाहलाई तथा नागरिकको हितमा व्यवस्थित र प्रभावकारी बनाउन सकारात्मक कदम अघि बढाउनुभएको छ ।

छिमेकी जिल्ला पर्साको वीरगञ्जमा हैजा महामारी फैलिएको संवेदनशील परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै उहाँले विश्रामपुर गाउँपालिकामा समेत सो रोगको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले तत्काल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई तैनाथ गरिएको जानकारी दिनुभयो । खुला सीमा रहेकोले जोखिम अझै बढ्ने सम्भावना भएको भन्दै सीमा क्षेत्रमा निगरानी तथा कडाइ गरिएको पनि उहाँले बताउनुभयो ।

हैजा फैलनुको प्रमुख कारणका रूपमा देखिएको दूषित पानीको समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृत केशरीले स्थानीय उपभोक्ताले प्रयोग गर्ने नालाभित्र रहेको खानेपानीको पाइपलाई कामदारमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । यस कदमले सम्भावित महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यसबाहेक, दैनिक रूपमा आफै गाउँपालिकाका विभिन्न वडामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र तत्काल समाधान गर्न प्रयास गर्ने उहाँको शैलीले स्थानीयवासीहरूमा खुसी देखिएका छन । ‘प्रमुख प्रशासकीय अधिकृत स्वयं मैदानमा खटिएर जनताको समस्या बुझ्नु र समाधानमा जोड दिनु प्रशंसनीय कार्य हो ।’ गाउँपालिका– ४ का एक समाजसेवीले बताए ।

सुशासनको दृष्टिकोणले पनि प्रशासकीय अधिकृत केशरीले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी प्रशासनलाई प्राथमिकता दिइरहेको स्पष्ट संकेत देखाउनुभएको छ । गाउँपालिकाको आन्तरिक कामकाजलाई व्यवस्थित बनाउन, जनताले सहज र छिटो सेवा पाउनसक्ने वातावरण बनाउन र विकास निर्माणका गतिविधिमा द्रुतता ल्याउन उहाँले आफ्नो सक्रियता बढाउनुभएको छ ।

Leave a Reply