कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका– १ स्थित श्री नेरामावि कठकुइया बसन्तपुर पकडी टोलमा वडा स्तरीय सरसफाइ तथा जनचेतना कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।कार्यक्रम जिराभवानी गाउँपालिका– १ को आयोजनामा र सशस्त्र प्रहरी बल महादेवपट्टीको सहजीकरणमा सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यालय वरिपरि बृहत सरसफाइ गरिएको र विद्यार्थीहरूलाई जनचेतनामूलक प्रशिक्षण पनि दिइएको थियो ।
कार्यक्रममा जिराभवानी गाउँपालिका– १ का वडा अध्यक्ष रामशरण ख्वास, गाउँपालिकाका पूर्व उपाध्यक्ष उषा देवी थरुनी, श्री नेरामाविका प्राचार्य कृपासिन्धु पटवारी, सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाट नेतृत्व गरिएको टोली, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, विद्यार्थीहरू र स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको क्रममा विद्यालय परिसर सफा गर्ने, फोहोर व्यवस्थापनको अभ्यास गराउने, तथा स्वच्छता र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। सशस्त्र प्रहरी बलको सक्रिय सहयोगले स्थानीयहरूमा स्वच्छ वातावरणप्रतिको सोच बलियो बनाउने विश्वास लिइएको छ ।स्थानीय प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समुदायमा सफाइप्रतिको जागरूकता बढाउने मात्र नभई विद्यालयका विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिने मौका मिल्ने बताएका छन् ।


















