हेटौँडा – मकवानपुरगढी गाउँपालिका– ४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहेको भान्साकोठामा बुधबार राति अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
इँटा र काठले बनेको तथा जस्ताको छानो भएको घरमा आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि बिहीबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर तथा भान्साकोठासहित लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार, चार तोला सुन, एउटा डुक मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामरा र कम्प्युटरको एक सेट जलेर नष्ट भएको पीडितले प्रहरीलाई जानकारी दिएका छन । पीडितका अनुसार आगलागीबाट करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

















