निजगढ,इलाका प्रहरी कार्यालय निजगढले किराना पसलमा सामान चोरी गरेको आरोपमा एकजना युवालाई बुधवार राति नियन्त्रणमा लिएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ एनसेल टावर नजिक भण्डारी टोलमा स्थानीय केदारप्रसाद पोख्रेलले संचालन गरेको पोख्रेल किराना पसलबाट सामान चोरी गरिरहेको अवस्थामा निजगढ नगरपालिका वडा नम्बर ६ राई टोल बस्ने संन्तोषकुमार राईको छोरा वर्ष २० को संदिप राईलाई राति ११ः१५ बजे नियन्त्रणमा लिएको हो ।चोरीमा संलग्न अर्का एकजना भने फरार रहेका छन ।

पसल घरको छानोको टायल निकालेर भित्र प्रवेश गरी सामान चोरी गरिरहेको अवस्थामा पसल मालिक पोखरेले छिमेकीहरुको सहयोगमा राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक निरीक्षक ब्रजकिशोर सिंहको कमाण्डमा खटेको टोलीलाई बुझाएका थिए ।चोरीको सामान समात्न पसल बाहिर बसेका अर्का चोर भने फरार रहेको र खोजतलास कार्य भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । निरीक्षक लामिछानेका अनुसार अन्दाजी ६-७ हजार मूल्य बराबरको सामानसहित चोर फरार भएका हुन ।पसल चोरी भएको उक्त स्थान इलाका प्रहरी कार्यालय निजगढबाट अन्दाजी डेढ किमीको दुरीमा रहेको छ ।

Leave a Reply