वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ता हैजा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनुभएको छ ।बुधवार दिउँसो झाडापखाला लागेपछि बुधवार राति उहाँलाई वीरगञ्जस्थित नारायणी सेन्ट्रल हस्पिटलमा भर्ना गरिएको थियो ।

आरडीटी किटमार्फत गरिएको परीक्षणमा उहाँमा हैजा सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र जनरल वार्डमा उपचार भइरहेको अस्पतालले बताएको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, गत शुक्रवारदेखि बिहीबारसम्म १ सय ४३ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । बिहीबार मात्रै थप ९ जनामा सङ्क्रमण देखिएको छ । यद्यपि, पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ ।

आइतबार २९, सोमबार २१, मङ्गलवार २१ र बुधवार १८ जनामा हैजा पुष्टि भएको थियो । हाल विभिन्न अस्पतालमा १७८ जना बिरामी उपचाररत छन् । उनीहरूमध्ये ६९ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य शाखाका अनुसार बिहीबारसम्म ६१२ जना बिरामीमध्ये ४३४ जना निको भएर घर फर्किसकेका छन् । घर फर्किएका मध्ये हैजाका ७४ जना बिरामी पनि पूर्ण रूपमा स्वस्थ भएका छन् ।
कलैयामा थप एकजनामा हैजा पुष्टि
कलैया,बाराको कलैयामा थप एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।प्रादेशिक अस्पताल कलैयामा उपचाररत एकजना झाडापखालका बिरामीमा बिहीवार हैजा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अजय कुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय पुरुष रहेका छन ।यस अघि बुधवार पनि प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका– १८ बासिन्दा हुन ।

Leave a Reply