वीरगञ्ज ,प्रतीक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत हुनुभएको छ । स्वर्गीय पत्रकारसुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत हुनुभएको हो ।वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिक ३७ औंं बार्षिकोत्सवको अवसरमा झालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतीक प्रकाशन दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका हुन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको पत्रकारितालाई सुधार र विकास गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफुले महानगरको नेतृत्व गरेदेखि कुनै पनि किसिमका अनियमितता नगरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न चुनौती पनि दिनुभएको छ । अख्तियारले खाली पत्र पठाउने गरेपनि कार्यालयमा आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ । उहाँले सुवोध स्मृति पुरस्कारको राशी वृद्धि गरेर १ लाख बनाउने आयोजकको लक्ष्य अर्काे वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिति रहेको थियो ।सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको सम्पादक नेपालले जानकारी दिनुभयो ।

Leave a Reply