नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुबेला रोग निवारण गर्न सफल मुलुकका रुपमा मान्यता दिएको घोषणा गरेको छ । यो नेपालको लागि एउटा ऐतिहासिक उपलब्धि हो ।

खोप अभियान र स्वास्थ्य संरचनामा विगत एक दशकभन्दा लामो समयदेखि गरिएको लगानी र निरन्तर प्रयासको फलस्वरुप नेपाल आज दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला

निवारण गर्ने छैटौँ मुलुक बन्न सफल भएको छ । रुबेला सामान्यतया ‘जर्मन दादुरा’ भनेर चिनिने रोग हो र गर्भवती महिलामा यो विशेष घातक हुन्छ ।

यसले गर्भपतन हुने, मृत शिशु जन्मिने वा जन्मजात अपांगताजस्ता आजीवन असर निम्त्याउने जोखिम बोकेको छ ।तर यसलाई सुरक्षित र प्रभावकारी खोपद्वारा पूर्णरुपमा रोकथाम गर्न सकिन्छ । यही वैज्ञानिक तथ्यलाई आधार मानेर नेपालले सन् २०१२ मा खोप कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतामा राखी सन् २०१६ मा दोस्रो मात्रासमेत नियमित तालिकामा समावेश ग¥यो र अहिले रुबेला रोग निवारणमा सफलता प्राप्त गरेको छ ।

सन् २०२४ सम्ममा पहिलो मात्रा खोप कभरेज ९५ प्रतिशत नाघ्न सफल भएको तथ्य खुशीको विषय हो । तर पनि यो उच्च प्रतिशत सबै जिल्लामा समानरुपमा हासिल भएको छैन । भौगोलिक कठिनाइ, दुर्गम बस्तीमा स्वास्थ्यकर्मीको कमी र केही धार्मिक–सांस्कृतिक संकोचका कारण केही समुदाय अझै खोप सेवाबाट वञ्चित छन् । यिनीहरुलाई पनि खोपको दायरामा ल्याउन जरुरी छ ।

Leave a Reply