निजगढ,पटकपटक विद्युत अवरुद्ध हुँदा निजगढ नगरपालिकाका सर्वसाधारण उपभोक्ता मारमा पर्दै आएका छन । पछिल्लो पटक सोमबार र मंगलबार दुई दिन लगातार विद्युत अवरुद्ध हुँदा नगर क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको थियो ।
विद्युत अवरुद्ध हुँदा कलकारखाना, व्यवसाय र सञ्चार संस्थसमेत लामो समयसम्म बन्द हुन पुगेका थिए । गत सोमबार साँझ हावाहुरी र पानी आएपछि अवरुद्ध बनेको विद्युत झण्डै ३० घण्टापछि मंगलरबार राती ८ः३० बजे सुचारु बनेको थियो ।
सानो हावाहुरी आउदा पनि निजगढमा पटकपटक सेवा अवरुद्ध हुने गरेको छ । निजगढबाट २१ किलो मिटर पूर्वको चन्द्रनिगाहापुरबाट जंगल हुदै २१ केभी प्रशारण लाईनमार्फत ल्याइएको लाइनमा समस्या उत्पन्न हुदा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । जंगल क्षेत्रमा हावाहुरीले रुख र रुखका हाँगा झरेर पटकपटक विद्युत सर्ट हुने नेपाल विद्युत प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहले बताउनुभयो । सोमबार पनि सोही क्षेत्रमा लडेका रुखहरुले थिचेर विद्युत सुचारु गर्न समस्या परेको उहाँले बताउनुभयो । पूर्वपश्चिम राजमार्गबाटभित्र वन क्षेत्रमा रुख ढलेकाले समस्या भएको स्थानको पहिचान गर्न नसेकेर मर्मत गर्न पनि ढिलाइ भएको उहाँको भनाइ छ । सोमबारको हावाहुरीले उक्त क्षेत्रमा ५ वटा रुख ढलेर ३ स्पान तार चुडिएपछि रुख पन्छाएर सुचारु गर्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । ‘उज्यालो भएपछि रुखका हाँगा काटेर पन्छाउन र मर्मत गर्न १२ घण्टा लाग्यो, प्रमुख साहले भन्नुभयो, उज्यालोको व्यवस्था नहुँदा राति अध्यारोमा काम गर्न सकिदैन ।’ प्रशारण लाइन पनि धेरै पुरानो भएकोले समस्या बढने गरेको उहाँको भनाइ छ ।