काठमाण्डौं,भारतले बाँधबाट सतलज नदीमा थप पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । बाढीको जोखिम बढेसँगै पाकिस्तानले दशौँ हजार बासिन्दालाई सुरक्षित ठाउँतर्फ सारिरहेको छ ।
भारतले पाकिस्तानलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना भारत पाकिस्तानबीच पछिल्लो द्धन्द्धपछिको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो ।

यस्तै भारतले यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैङ्कको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्रबाट नभइ प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । उद्धारकर्ताहरूले कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा लगेका छन् ।भारतीय सीमा नजिकको बहावलनगर शहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ । अत्यधिक वर्षा जारी रहँदा पाकिस्तानले तीव्र बाढीको सामना गरिरहेकै बेला सतलजमा सीमापार बाढीको जोखिम आएको हो ।

पाकिस्तानमा जुन २६ तारिखपछि मनसुनी वर्षाबाट निम्तिएको बाढीले आठ सय जनाभन्दा बढीको ज्यान लिएको छ । पाकिस्तानमा मनसुनी मौसम जुलाईदेखि सेप्टेम्बरसम्म चल्छ । विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर भनेका छन् ।

Leave a Reply