कलैया , १२ भदौ । हालै मात्र सरुवा भएर विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्रशाअ)का रूपमा कार्यभार सम्हालेका सुनिल प्रसाद केशरीले सुशासन कायम गर्ने तथा नागरिकहितमा सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सकारात्मक कदमहरू अगाडि बढाएका छन्।

छिमेकी जिल्ला पर्साको वीरगञ्जमा हैजा महामारी फैलिएको संवेदनशील परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै उनले विश्रामपुर गाउँपालिकामा समेत सो रोगको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले तत्काल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई तैनाथ गरिएको जानकारी दिनुभयो। खुला सीमा रहेकोले जोखिम अझै बढ्ने सम्भावना भएको भन्दै सीमाक्षेत्रमा निगरानी तथा कडाइ गरिएको पनि उहाँले बताउनुभयो।
हैजा फैलनुको प्रमुख कारणका रूपमा देखिएको दूषित पानीको समस्या समाधानका लागि प्रशाअ केशरीले नालाभित्र रहेको खानेपानी पाइपलाई कामदारमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम अगाडि बढाउन निर्देशन दिनुभएको छ। यस कदमले सम्भावित महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसबाहेक, दैनिक रूपमा स्वयं गाउँपालिकाका विभिन्न वडामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र तत्काल समाधान गर्न प्रयास गर्ने उनको शैलीले स्थानीयवासीहरूमा प्रशंसा पाएको छ। “प्रमुख प्रशासकीय अधिकृत स्वयं मैदानमा खटिएर जनताको समस्या बुझ्नु र समाधानमा जोड दिनु प्रशंसनीय कार्य हो,” गाउँपालिका–४ का एक समाजसेवीले बताए।
सुशासनको दृष्टिकोणले पनि प्रशाअ केशरीले पारदर्शिता, जवाफदेहित्ता र परिणाममुखी प्रशासनलाई प्राथमिकता दिइरहेको स्पष्ट संकेत देखाएका छन्। गाउँपालिकाको आन्तरिक कामकाजलाई व्यवस्थित बनाउन, जनताले सहज र छिटो सेवा पाउन सक्ने वातावरण बनाउन र विकास गतिविधिमा द्रुतता ल्याउन उनले आफ्नो सक्रियता देखाएका छन्।
















