निजगढ,नेपाल विद्युत प्राधिकरण निजगढ उपवितरण केन्दको कार्यालय भवन जीर्ण भएर भत्किन थालेको छ । भवन जीर्ण बनेर भत्किन थालेपछि कार्यालयका कर्मचारीहरु जोखिम मोलेर काम गर्न बाध्य भएका छन ।भवनको केही भाग भत्किएर कार्यालयको सेवा प्रवाहमा समस्या भएपछि प्राधिकरणले नयाँ भवन भाडामा लिएर कार्यालय संचालन गर्ने तयारी गरेको छ ।
पुरानो भवन जीर्ण भएर भत्किन थालेपछि नयाँ भवन भाडामा लिएर कार्यालयको संचालन गर्ने प्रक्रिया शुरु गरिएको कार्यालय प्रमुख नरेन्द्र मण्डलले जानकारी दिनुभएको छ । उहाँले उपभोक्ताहरुलाई पाएक पर्ने स्थानमा कार्यालय राखिने पनि जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गसंग जोडिएको वा केही भित्री क्षेत्रमा बनेको भवनको खोजी भइरहेको बताउनुभयो ।
करिव ४ दशकअघि निर्माण भएको सो कार्यालय भवनको उत्तर÷पूर्वी कुनाको एउटा मुख्य पिलर र सोही पिलरमा राखिएको छतको बरण्डासमेत भत्किएपछि सेवा प्रवाहामा समस्य भएको प्रमुख मण्डलले बताउनुभयो । उहाँका अनुसार साउन महिनाको पहिलो साता कार्यालय समयमै भवन सो पिलरको आधा भाग र छतको बरण्डाको ढलान समेत भत्किएर खसेको हो । ‘कार्यकक्षमा बसेर काम गर्न पनि डर लाग्छ, प्रमुख मण्डलले भन्नुभयो, कार्यालय सार्न भाडाको भवनको खोजी भइरहेको छ ।’भवनको केही भाग भत्किएपछि कार्यालयमा बसेर काम गर्न समस्या परेको कर्मचारीहरुको पनि भनाई छ । भत्किएको भवनको सो पिलर र छतसंग कार्यालय प्रमुख मण्डलको कार्यकक्ष जोडिएको छ ।



















