आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा पूर्वसूचना अनुसार बुधवार आयोजना गरिएको नगर सभा बैठक फेरि स्थगित भएकोछ ।बिहान ११ बजे शुरु भएको नगर सभा बेलुकी ६ बजेसम्म पनि नटुङ्गिएपछि नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले अर्को सूचना नहुँन्जेलसम्मको लागि बैठक स्थगित गर्नुभएको हो ।नगर सभा हलमा बैठक भइरहदा सभा हेर्न भनेर आएका केही मानिसहरुले नगर प्रमुख कलवार पक्षधर तीन जनामाथि हातपात गरेका थिए । उनीहरुले नगर प्रमुखका स्वकीय सचिव विजय साह, सन्जय यादव र पारस यादवलाई कुटपिट गरेपछि सभा हलबाहिर र भित्र पनि तनाव बढेको थियो ।नगर प्रमुख कलवारको अध्यक्षता शुरु भएको बैठकमा ९० प्रतिशत सभा सदस्यहरुको उपस्थिति रहेको थियो
यसअघि असोज २० गतेको लागि बोलाइएको नगर सभा बैठक पनि शुरु हुन नपाउदै स्थगित भएको थियो । बैठकमा सहभागी हुन सबै नगर सभा सदस्य उपस्थित भइसकेपछि नगर प्रमुख कलवारले अचानक बैठक स्थगनको घोषणा गर्नुभएको थियो ।सभा शुरु हुनुअघि वडा नम्बर १ का वडा अध्यक्ष दिनदयाल सहनीले अघिल्लो सभाको माइन्युट बैठकमा ल्याउनुपर्ने र यस पटकको माइन्युट उपप्रमुख नाजुम शेयरको जिम्मा लगाइनुपर्ने अन्यथा बैठकको माइन्युटमा आफूहरुले हस्ताक्षर नगर्ने बताएपछि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख कलवार हलबाट बाहिरिनुभएको थियोे । बैठकमा नगर सभाका सबै सदस्य उपस्थित भएर पनि नगर सभा सदस्यले उपस्थिति रजिस्टरमा हस्ताक्षर नगरेकाले सभा स्थगित गर्नुपरेको नगर प्रमुख कलवारको जिकिर थियो ।सिम्रौनगढमा उपप्रमुख शेयरसहित नगर सभाका बहुमत सदस्यहरु नगर प्रमुख कलवारको विपक्षमा उभिएएपछि उत्पन्न गतिरोधले नगर सभा प्रभावित हुदैआएको छ ।

















