रौतहट,रौतहटमा गौरमा २७ जना माओवादी पार्टीका कार्यकर्ताहरुको ज्यान जाने गरी भएको घटनाको विषय सर्वोच्च अदालतको परमादेशको विषयमा छलफल गर्न बिहीवार बसेको सर्वदलीय बैठकले सर्वपक्षीय आन्दोलनको घोषणा गरेको छ ।गौर हत्याकाण्ड सम्बन्धी जाहेरीको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि रौतहटका सत्तापक्ष र विपक्षी दलका नेताहरु एकढिक्का भएर आन्दोलन गर्ने निर्णय गरेका हुन ।

जसपा नेपालसहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा लगायत दलका नेताहरुको गौरस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले जानकारी दिनुभएको छ ।२०६३ साल चैत्र ७ गते गौर राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भिडन्त हुँदा २७ जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सो घटनामा मुछिएको भन्दै अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जनामाथि अनुसन्धान गर्न आदेश दिएपछि जसपा नेपालका नेता कार्यकर्ताहरुले राजनीतिक पूर्वाग्रहीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै आन्दोलित हुदैआएका छन् ।रौतहटमा अहिलेसम्म जसपा नेपालले मात्र विरोध प्रदर्शन गर्दै आएकोमा अब सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेस, लोसपालगायत नेकपा एस पार्टीका नेताहरुलेसमेत संयुक्त रूपमा आन्दोलन गर्ने भएका हुन ।

सर्वोच्च अदालतको आदेशपछि आन्दोलनमा सक्रिय रहेका जसपा नेपालसँगै अब जिल्लामा क्रियाशील अन्य दलका शीर्ष नेताहरू पनि सडक संघर्षमा उत्रिने भएका छन् ।जसपा नेपाललाई सत्ताधारी र प्रतिपक्षी दलहरुले सघाउन तयार भएपछि आन्दोलनले नयाँ मोड लिने भएको छ ।सर्वदलीय सर्वपक्षीय बैठकले आउँदो शनीवार गौरमा मसाल जुलुस निकाल्ने र त्यसको भोलिपल्ट आइतवार संयुक्त बृहत शक्ति प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका नेता रेवन्त झाले बताउनुभएको छ ।

गौर हत्याकाण्डमा सरकारले विभिन्न दलमा आबद्ध रहेका मधेशका नेताहरुलाई सुनियोजित तरिकाले फसाउने षड्यन्त्र रचेकोले आफूहरु एकढिक्का भएर सरकारको सो कदम विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णयमा पुगेको नेता झाले बताउनुभयो ।बैठकले विगतका घटनाबारे जनमानसमा प्रचार–प्रसारका लागि रौतहटका चार वटै क्षेत्रमा टोली गठन गरेको छ ।

रौतहट क्षेत्र नम्बर १ का लागि नेकपा एमालेका नेता बबन सिंह, लोसपा नेता बाबुलाल साह, नेकपा एसका नेता रेवन्त झा, लोसपा नेता अनिल सिंह लगायतको नेताहरुको टोली बनाइएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र गिरी, जसपा नेपाल रौतहटका अध्यक्ष राजु यादव, प्रदेश सांसद शोभा साह र बशिष्ट नेता राम किशोर यादवलाई बैठकले प्रचार प्रसारको जिम्मेवारी दिइएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ र ४ का लागि नेकपा एसका नेता ब्रिजकिशोर यादव, जसपा नेपालका नेता अनिल यादव, जसपा नेपाल रौतहटका जिल्ला इन्चार्ज राजकुमार दास र श्याम यादव सहितको टोली बनाइएको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले बताउनुभयो ।

Leave a Reply