पुष्पराज खतिवडा,नरेश गुप्ता
(मनहर्वा, बरियारपुर),महिलासंगको अवैध सम्बन्ध लुकाउन बाराको कलैयामा दुई नाबालक दाजुभाइको हत्या भएको रहस्य खुलेको छ ।
कलैयामा गत जेष्ठ ४ गते कलैयाका दुई बालकको हत्या गरिएको घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २५ का फरमुल्हा अन्सारीले नातामा भाउजु पर्ने मिना खातुनसंगको अवैध सम्बन्ध लुकाउन २ बालकको घाँटी रेटी हत्या गरेको पाइएको प्रहरी नायव उपरीक्षक एंव जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले दुबै बालकको घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको दिन जेठ ४ गते हत्यामा संलग्न रहेको आशंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएपछि पनि प्रहरीले अनुसन्धानका क्रममा करिब ५० जना व्याक्तिसंग सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा फरमुल्लाहले मृतक बालककी आमा खातुनसंगको आफनो अवैध सम्बन्धको पोल खुल्ने डरले जेठ ३ गते बेलुकी साढे ७ बजेतिर दुवै बालकलाई ललाइ फकाइ गाउँकै मदरसामा लगेर छुराले घाटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । मृतक बालकका बुबा अब्दुल गफार बैदेसिक रोजगारीको सिलशिलामा ३ वर्षअघिदेखि कतारमा छन् । घरमा ती दुबै बालक, एक दिदी, एक बहिनी र आमा मीना गरि ५ जना मात्रै बस्दै आएका थिए ।
पति विदेशमा रहेको अवस्थामा नातामा देवर पर्ने फरमुल्लाहले मीनासंग अनैतिक सम्बन्ध राखेको र छोराहरुलाई छाडेर दुई छोरीहरुलाई मात्र लिएर भारतमा गएर बस्न दबाब दिदै आएका थिए । तर मीनाले भने छोराहरुलाई छोडेर फरमुल्लाहसंग भारत गएर बस्न मानेकी थिइनन् । यहि बिचमा मीनाका छोराहरुले आफ्नी आमा र फरमुल्लाहबीचको अवैध सम्बन्धका बारेमा जानकारी पाइसकेका थिए । दुबै बालककले इद पर्वमा बुबा कतारबाट आएपछि सबै कुरा बताउने भन्दै धम्काएका थिए । यसका साथै फरमुल्लाहले मीनासंग लिएको ऋण बापतको केहि रकम फिर्ता पनि गरेका थिएनन् । दुबै बालकका कारण मिना घर छाडेर भारतमा आफुसंगै जान नमानेको र मीनासंगको अवैध सम्बन्धको पोल पनि खुल्ने डर भएपछि फरमुल्लाहले प्रेममा बाधक देखिएका दुबै बालकको हत्या गर्ने योजना बनाएका थिए । यसैबीच जेठ ३ गते माइतीतर्फका एक आफन्तको निधन भएको खबर पाएर मिना जीतपुर टेढास्थित माइती घरमा गएकी थिइन् । त्यहि मौका छोपेर जेठ ३ गते बेलुकी साढे ७ बजे फरमुल्लाहले घरबाट ती दुवै बालकलाई बोलाएर मिठाइ, चकलेट खुवाउदै मदरसामा लगेर घाँटी रेटी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । जेठ ३ गते बेलुकी मदरसामा लगेर दुबै बालकको हत्या गरेपछि घर छाडेर फरार भएका फरमुल्लाहलाई जेठ ४ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएको ५ दिनसम्म गरिएको अनुसन्धानका क्रममा अभियुक्त आफैले हत्या स्वीकार गरेपछि आइतबार प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पछिल्लो समय भने मिनासंग अंसारीको दूरी बढेको थियो ।
परिवारमा खाद्यान्न सहयोग
कलैया, बालक हत्यापछि पिडित बनेको परिवारलाई बाल हेल्पलाइन नं १०९८ नेपाल, बाराले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ । मृतक बालकको परिवारमा चामल, खाने तेल, आलु, प्याज, दाल, स्वाइबिन, नुन र मसालको प्याकेट लगायत सामग्री सहयोग गरिएको हो । राहत सामग्री वितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाको वडा नं ७ का अध्यक्ष सैफुल्ला मियाँ अंसारी, संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, संस्थाका कार्यक्रम संयोजक मुकेशकुमार कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइन नं. १०९८ नेपाल, बाराले राहत सहयोग प्रदान गरेको संरक्षण नेपालका कुशवाहाले बताउनुभयो ।