कलैया,बाराको फेटा गाउँपालिका वडा नम्बर ३ स्थित बौधीमाई मन्दिरमा भएको तोडफोडको घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै हिन्दू परिषद नेपालले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ ।

बौैधीमाई मन्दिरमा गत सोमबार राति अज्ञात व्याक्तिहरुले तोडफोड गरेका थिए । उक्त घटनामा संलग्नहरुको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । हिन्दूहरुको मन्दिरमा तोडफोड गर्नेहरुको पहिचान गरि कारबाहीको माग गर्दै हिन्दू परिषद नेपालका अगुवाहरुले बुधबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी नायव उपरीक्षक राजेश थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।

मन्दिरमा निर्मित बाघको मुर्ती,मन्दिरको प्राङ्गणमा रहेको हनुमानको ध्वजा र मन्दिरको भर्याङमा लगाइएको मार्बलससमेत तोडफोड गरि फुटाएर धर्ममाथि नै प्रहार गर्ने काम गरिएकाले उक्त घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरि कारबाही गर्न हिन्दू परिषद नेपालले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, हिन्दू परिषद नेपाल बाराका अध्यक्ष गोपाल दासका साथै हिन्दू परिषद नेपालका सदस्य, समाजिक अभियन्ता लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply