वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधवार बिहान करिब ९ः४५ बजे विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको थियो । फरजना खातुनको स्वामित्वमा रहेको तीनतल्ले पक्की घरको भुइँतल्लामा सञ्चालित उद्योगमा आगो लाग्दा उद्योगको महत्वपूर्ण मेसिनरी र पाटपुर्जा जलेर नष्ट भएका छन ्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी परवानीपुर, सशस्त्र प्रहरी बल श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो । स्थानीय, प्रहरी र बारुणयन्त्रको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि उद्योगका विभिन्न मेसिनरीमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ३२ लाख रुपैयाँको हिट ट्रान्सफर्मर मेसिन, दुई लाख २० हजार रुपैयाँको सर्भो स्टेबलाइजर, तीन लाख रुपैयाँको रोलिङ मेसिन र दुई लाख रुपैयाँको वाइरिङ पाट्र्स जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार कुल क्षति करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको भएको छ ।

Leave a Reply