काठमाण्डौं,स्वास्थ्य बिमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सह भुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ ।बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सह भुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो ।यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई एक लाख बराबरको उपचार खर्च बिमा बोर्डले ब्यहोर्ने गर्दछ । उहाँले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सह भुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । ‘बीमितले अनावश्यक रूपमा स्वास्थ्य परीक्षण गराउन थाले’, उहाँले भन्नुभयो, ‘त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।’ उहाँका अनुसार सह भुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ ।प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उहाँको भनाइ छ । सह भुक्तानी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ ।गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोग र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सह भुक्तानी प्रणाली (१० प्रतिशत रकम तिर्नु नपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन् । विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बिमा बोर्डबाट एक लाख रुपैयाँसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।