पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्थाले सञ्चालन गरेको तिन महिने सीपमूलक ब्युटिसियन तालिम सम्पन्न भएको छ ।सहकारीको सभाकक्षमा बुधवार आयोजना गरिएको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा वडा अध्यक्ष चतुरबाबु वाग्लेले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वाग्लेले सीपलाई स्वरोजगारको बलियो आधारको रूपमा लिँदै सहकारीले सदस्यहरूको आयआर्जन वृद्धिका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । ‘सीपलाई लगनशील भएर व्यवहारमा उतार्न सके आम्दानीको गतिलो श्रोत निर्माण हुन्छ’ वाग्लेले भन्नुभयो । उहाँले माग भए ब्युटिसियन तालिमको एड्भान्स कोर्षका लागि पनि सहयोग गर्ने आश्वासन दिनुभयो ।
तालिम जीतपुरसिमरा वडा नम्बर १८ को बडहर्वा र कलैया वडा नम्बर १६ को उत्तरझिट्कैंया गरी दुई स्थानमा सञ्चालन गरिएको थियो । तीन महिनासम्म चलेको तालिममा ५० जना सदस्यकी छोरीहरूको सहभागिता रहेको सहकारीले जनाएको छ । तालिम गत जेठको पहिलो साताबाट सुरु भई भाद्र २ गते सम्पन्न भएको हो ।तालिम सीटीईभीटी हेटौंडाकी प्रशिक्षक शर्मिला खनालको निगरानीमा सञ्चालित भएको हो । तालिममा स्थानीय प्रशिक्षक सुस्मीता श्रेष्ठ, जुनी योञ्जन, आरती कुमारी र सुमन कुमारीले सहजीकरण गरेका थिए ।समापन कार्यक्रममा बोल्दै सहभागीहरूले एड्भान्स कोर्ष सञ्चालन गर्न माग गर्दै सहकारीले दिएको तालिम उपयोगी भएको बताएका छन् । तालिमका प्रशिक्षक र सहभागीलाई सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्का र वडा अध्यक्ष वाग्लेले प्रमाणपत्र वितरण गरेका थिए । अध्यक्ष खड्काको अध्यक्षता, संचालक विनिता गौतमको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

















