राजन कुमार बनिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालयको बिहीवार उद्धाटन भएको छ । कार्यालयको उद्धाटनसँगै पोखरिया र त्यस भेगका नागरिकको लामो समयदेखिको प्रतिक्षाको रुपमा रहेको कार्यालयहरु सञ्चालनमा आएका छन ।

पोखरिया नगरपालिकामा बिहिवार आयोजित एक समारोहका बीच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गर्नुभएको हो । उहाँले कार्यालयको उद्घाटन गर्दै ग्रामीण भेगका नागरिकलाई अब नापी र भूमिसम्बन्धि सेवा लिन सहजता हुने विश्वास व्यक्त गर्नुभयो । यसबाट नागरिकको समय र रकम दुबै जोगिने बताउँदै उहाँले पोखरियाकै कार्यालयबाट सबै किसिमका सेवा उपलब्ध गराउने जानकारी गराउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफुले चुनावताका गरेका प्रतिबद्धतालाई पुरा गर्ने क्रममा रहेको बताउनुभयो । पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने आफुले चुनावताका गरेको बाचालाई पुरा गरेको उहाँको भनाई थियो । पोखरियामै ईलाका प्रशासन कार्यालय स्थापनाका लागि पनि पहल गरिरहेको उहाँको भनाई थियो । साथै पोखरियाको विकासको लागि थप योजना दिने उद्घोष पनि उहाँले गर्नुभयो ।
यसअघि नै भारत सरकारको सहयोगमा आफूले ३५ करोडको योजना दिएको बताउँदै अब केही दिनमा आफू चीन जाने र त्याहाँबाट पनि ४० देखि ५० करोडसम्मको योजना पोखरिया नगरपालिकाको लागि ल्याउने उहाँको प्रतिबद्धता थियो । उहाँले भन्नुभयो, ‘हुन त मैले सम्हालेको मन्त्रालय विकास गर्ने मन्त्रालय हैन, तर पनि आफ्नो गाउँठाउँको विकासका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु । ३५ करोडको योजना दिएको छु । यस्तै पोखरिया नगरपालिकामा ३ वटा सडकको योजना पनि दिएको छु । केही दिनमा चिन जाँदैछु, त्याहाँबाट पनि ४०÷५० करोडसम्मको योजना दिन्छु ।’

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशकै युवा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्यद्वय श्याम पटेल, बिना शर्मा, पूर्वसांसद बिचारी यादव, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply