कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर र जीराभवानी गाँउपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ थान वातानुकूलित (एसी) सहयोग गरेका छन् ।जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव र जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले अस्पताललाई ३-३ थान एलजी कम्पनीको एसी अस्पतालमा हस्तान्तरण गरेका हुन् ।
मंगलवार अध्यक्ष यादव र चौधरीले अस्पतालमै पुगेर मेसु डा. चुमनलाल दासलाई एसी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको पनि उपस्थिति रहेको थियो ।
यसअघि सोमवार अस्पताल निरीक्षणका क्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँगै मेडिकल वार्डमा पंखा मात्रै भएको र गर्मीले बिरामीलाई समस्या भइरहेको देखेपछि अध्यक्ष यादवले एसी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसकै भोलिपल्ट मंगलबार ६ थान एसी हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यादवकै आग्रहमा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ थान एसी दिने प्रतिबद्धता जनाउनुभएको छ ।अध्यक्ष यादवले १–२ दिनभित्र उक्त अस्पतालमा एसी दिने उहाँले बताउनुभयो ।मंगलवार प्राप्त ६ थान एसी तत्कालै मेडिकल वार्डमा जडान गरिएको अध्यक्ष गुप्ताले जनाउनुभयो ।
४० शैयाको मेडिकल वार्डमा एसी जडान भएपछि उपचाररत बिरामीलाई सहज हुने विश्वास लिइएको छ ।



















