खासगरी कोरोना महामारीविरुद्ध जुध्न सरकारको व्यस्थापकीय पक्ष चुस्तदुरुस्त बन्न सकेको छैन । लकडाउन (घरबन्दी) शुरू भएको ६२औं दिन बितिसक्दा पनि अझै पनि आवश्यक मात्रामा व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन बेड र परीक्षणको दायरा बढाउन नसक्नुले सरकारको व्यवस्थापकीय कमी–कमजोरी छताछुल्ल भएको छ । कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दै गएको छ । यस अवस्थामा अहिले भएको क्षमताले थाम्न सकेको छैन । देशभर स्वास्थ्य संकट बढ्दै गएको छ ।
त्यसको सामना गर्न स्वास्थ्य पूर्वाधार, स्रोत र जनशक्ति व्यवस्थापनमा अझै तदारुकताको खाँचो रहेको छ ।सोमबारसम्ममा देशभर कोरोना संक्रमितको संख्या ७ सयनिकट पुगिसकेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी गर्नुपर्ने अवस्थामा सरकार दैनिकरूपमा चुकिरहेको छ । अहिले धेरै ठाउँमा पीपीई, किट, आइसोलेसन बेड, पीसीआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन । स्वास्थ्यकर्मी पनि अपुग रहेको छ ।यसले गर्दा कोरोना रोकथाम र नियन्त्रणमा कार्य प्रभावकारी हुन सकेको छैन । अर्कोतर्फ रोजगारीका लागि भारतका विभिन्न शहर गएका हजारौं नेपाली स्वदेश फर्किरहेका छन् ।
तर, किट अभावले गर्दा उनीहरूलार्ई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । यसले संक्रमणको जोखिम अझै बढाएको छ । परीक्षणको दायरा नबढाउने हो भने लकडाउनले मात्र कोरोना संक्रमण नियन्त्रण नहुने पछिल्लो संख्याले बताइरहेको छ ।संक्रमित संख्या बढ्दै गएपछि स्थानीय तह र प्रदेशले थेग्न सकिरहेको छैन । काठमाडौं उपत्यकाका स्थानीय तहहरूको दबाबपछि गृह मन्त्रालयले काठमाडौं उपत्यका छिर्ने सबै नाका बन्द गरे पनि मानिस आउने क्रममा केही कमी आए पनि रोकिएको छैन । उपत्यकामा आफ्नो घरबाट फर्किएकाहरूलाई राख्ने होल्डिङ ठाउँ र क्वारेन्टाइनको अभाव छ ।