वीरगञ्ज,सर्लाहीमा साउन ७ गते सोमवार राप्रपाका संस्थापक सदस्य एवंम पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरीले बताएको छ ।गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । आदर्शकोटवालको खजुरियास्थित घरबाट मोटरसाइलमा कलैयातर्फ आउदै गर्दा उनको गोली प्रहार गरी सडकमै हत्या भएको थियो । मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान स्थानीय सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।
जेठ २९ मा पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भएको थियो । नेपाल–भारत सीमा नजिक कलैया निवासी रामएकवाल पण्डित र उनको साथी सुरेश ठाकुरको आफ्नै भतिजाबाट हत्या भएको हो ।
पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध वृद्धि भएको पाइएको छ । मधेस प्रदेशमा हत्या जस्ता घटनाहरु सामान्यजस्तै हुन थालिसकेका छन ।व्यक्तिगत रिसिइबी तथा सामान्य खालका विवादमा हत्या जस्ता जघन्य अपराधका घटना हुने गरेको प्रहरीको विश्लेषण छ ।
मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष (०८०÷०८१) प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् । समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।
सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ । पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ ।ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।अघिल्लो आर्थिक वर्षमा मधेसमा कुल १११ वटा हत्याका घटना भएका थिए । प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणमा अघिल्लो वर्षमा ७० जना पुरुष र ४१ जना महिलाको हत्या भएको रेकर्ड छ । यसैगरी यो हत्याका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६९ जनालाई पक्राउ गरेको तथ्याङ्क छ ।
प्रदेश प्रहरी प्रवक्ता बोहराका अनुसार पछिल्लो समयमा मधेसमा हत्याका घटना हुनुको पछाडि जग्गा जमिनको विवाद, आर्थिक लेनदेन, व्यक्तिगत रिसिइबी, सामान्य आवेग जस्ता कारणले हत्या भइरहेका छन् । यसो हुनुको पछाडि सर्वसाधारणमा नैतिक शिक्षाको कमी हुँदै गइरहेको उहाँको ठम्याइँ छ ।
अर्को कारणमा खुल्ला सीमा पनि रहेको प्रदेश प्रहरी प्रवक्ता बोहराको धारणा छ । उहाँले भारततिरबाट सजिलै प्रवेश पाउने भएको हुँदा पनि मधेसमा आपराधिक घटना बढेको बताउनुभयो ।


















