वीरगञ्ज,वीरगञ्जको घण्टाघर नजिकै रहेको बिपी उद्यानको जग्गा अतिक्रमण गरी स्थापना गरिएका तरकारी, फलफूल, खाजा–नास्ता तथा अन्य पसल र टहरा सात दिनभित्र खाली गर्न वीरगञ्ज महानगरपालिकाले कडा निर्देशन दिएको छ ।
२०७३ साल फागुन ८ मा डोजर लगाएर खाली गराइएको बिपी उद्यानको जग्गा केही समयपछि फेरि व्यापारी र पसलेहरूले अतिक्रमण गरी अस्थायी टहरा निर्माण गरेर व्यापार सञ्चालन गरेका थिए । हाल उद्यानको करिब १० बिघा क्षेत्रफलमा सयौँ टहरा बनाइएको छ, जहाँ तरकारी, खाजा–नास्ता र घरेलु मदिराका पसल सञ्चालन हुँदै आएका छन् ।
थोक तरकारी मन्डीका पसल र होटेलहरूले दैनिक रूपमा उत्सर्जन गर्ने फोहोरको व्यवस्थापन हुन नसक्दा कुहिएको फोहोर महिनौँसम्म थुप्रिन्छ । यसबाट उत्पन्न दुर्गन्धले उद्यानको आसपासबाट यात्रा गर्ने नागरिकहरूलाई समस्या परेको छ ।
वीरगञ्जको केन्द्रमा रहेको बिपी उद्यान अव्यवस्थित तरकारी बजार, जथाभाबी टहरा र फोहोरका कारण दुर्गन्धित मात्रै होइन, सहरको सौन्दर्यलाई पनि क्षति पुगेको छ ।
पुस १२ गते वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णद्वारा जारी सूचनामा मङ्सिर २६ गतेको निर्णयअनुसार पसल हटाउन १५ दिनको समयावधि तोकिएको थियो । तर, तोकिएको समय सकिएपछि थप सात दिनभित्र पसल हटाउन अन्तिम चेतावनी दिइएको छ ।महानगरले अटेरी गरेमा बजार खाली गराउन लाग्ने सबै खर्च सम्बन्धित व्यापारी र पसलेहरूले नै बेहोर्नुपर्ने चेतावनी दिएको छ । साथै, तरकारी तथा फलफूलको बजार वीरगञ्ज–१६, नगवास्थित कृषि बजारमा सार्न आग्रह गरिएको छ ।



















