अघिल्लो हप्ता त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक आर्यालको कार्यकक्षको मूल गेटमा अनशन बसेका अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् ।करिब एक महिनादेखि अराजकता प्रदर्शन गर्न थालेका अनेरास्ववियु (क्रान्तिकारी)ले तीनैजना पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । ‘जो चोर उसकै ठूलो स्वर’ भनेझैँ पदाधिकारीमाथि आक्रमणमा उत्रेका विद्यार्थी आफैँले त्रिविलाई दोष दिनु निन्दनीय छ ।

रिले अनशन बसेका विद्यार्थीले रजिस्ट्रार रिजालमाथि अभद्र व्यवहार गरेका हुन् । क्रान्तिकारी विद्यार्थीले गरेको तोडफोडको सर्वत्र निन्दा भएको छ । सो विद्यार्थी संगठनले गएको वर्ष असोज १ गतेबाट स्थापना भएका चार विभागमा अध्ययनरत विद्यार्थीको शुल्क अन्य विभागसरह हुनुपर्ने माग गरिरहेका छन् । धर्ना भएदेखि उपकुलपति अर्याल २५ दिनयता कार्यालय प्रवेश गर्न सक्नुभएकोछैन । आफ्नै कार्यालयमा जाने अवस्था नदेखेपछि उपकुलपति कार्यालयले सरकार गुहारेको छ । उनीहरुले अंगरक्षक राख्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्र पठाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखकसँग समेत सुरक्षाको माग गर्दै अंगरक्षक खटाइदिन आग्रह गरेका छन् ।

रजिस्ट्रार रिजालले माग पूरा गर्ने विषयमा अनेरास्ववियुसँग छलफल गरिरहेको अवस्थामा क्रान्तिकारीका विद्यार्थी एकाएक रजिस्ट्रारको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका थिए । तोडफोडको कारण दुई पदाधिकारीको कार्यालयमा क्षति पुगेको छ । त्रिविका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्न पुगेका विद्यार्थी र प्रहरीबीच केही बेर झडप भएको थियो ।प्रहरीले विद्यार्थीलाई तितरबितर गरेपछि त्रिवि शान्त भएको छ । झडपका क्रममा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । प्रहरीसँग भीडन्त भएपछि विद्यार्थीलाई कार्यकक्षमा रोक लगाइएको थियो । तीनै पदाधिकारीको कार्यालय प्रहरीको घेराभित्र छ । यस्तो अराजकताले कसैलाई पनि फाइदा हुँदैन, यो अन्त्य हुन आवश्यक छ ।

 

Leave a Reply