बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने बारेमा चल्दै आएको विवाद अन्त्य भएको छ । नगरपालिकाले विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरेर पठाएपछि विवाद अन्त्य भएको हो ।नगर शिक्षा समितिले निजगढ नगरपालिकाका वडा नम्बर ५ स्थित सार्वजनिक मावि बागदेवका अंग्रेजी विषयका माध्यमिक तह तृतीय श्रेणीका शिक्षक रामवरण यादवलाई सो विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेर पठाएको छ । निजगढ नगरपालिकाले नगर शिक्षा समितिको मिति २०७९।१२।१२ गतेको निर्णयअुनसार यादवलाई प्रधानाध्यापक नियुक्त गरेर पठाएको हो ।द्यालयका तत्कालिन प्रधानाध्यापक श्यामकुमार शर्माले अनिवार्य अवकास पाएपछि प्रधानाध्यापकबिहिन अवस्थामा रहेको विद्यालयले करिव १ वर्षपछि प्रधानाध्यापक पाएको हो । यसअघि शिक्षक सेवा आयोगबाट माध्यमिक तहको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय समिति बाराको सिफारिसमा निजगढ नगरपालिकाले हाजिर हुन पठाएकी शिक्षिका अम्बिका लुइटेललाई विद्यालय व्यवस्थापन समितिले विषय नमिलेको भन्दै विद्यालयमा हाजिर गर्न रोक लगाएपछि विद्यालयमा प्रधानाध्यापक नियुक्ति सम्बन्धि विवाद चुलिदै आएको थियो ।व्यवस्थापन समितिले विद्यालयमा विज्ञान विषयको शिक्षक आवश्यक रहेको र सोही विषयको शिक्षक पठाउनुपर्ने भन्दै अंग्रेजी विषयकी शिक्षक लुइटेललाई हाजिर गर्न इन्कार गरेको थियो । विद्यालयले हाजिर गर्न रोक लगाएपछि शिक्षक लुइँटेललाई निजगढ ५ स्थित सार्वजनिक माविको सहायक शिक्षक र सोही विद्यालयका शिक्षक यादवलाई नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा सरुवा गरेर प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here