कलैया,जिल्ला प्रशासन कार्यालय बाराले अनुदानको रसायनिक मल वितरण कार्यको अनुगमन गर्ने भएको छ ।
जिल्लामा अनुदानको मल वितरणमा अनियमितता भएको गुनासो बढ्न थालेपछि कार्यालयले आफ्नो आधिकारी फेसबुक पेजबाट सूचना जारी गर्दै सहकारी संस्थाहरुबाट हुदैआएको मल वितरण कार्यको अनुगमन गर्ने जनाएको हो ।
‘अब हामी तत्कालै सम्बन्धित स्थानीय तहसंग समेत समन्वय गरी त्यस्ता सहकारी र मल वितरण गर्ने सरकारी कार्यालय समेतको अनुगमन गर्नेछौ ।’

कार्यालयको फेसबुक पेजमा लेखिएको छ– ‘अहिले कृषक समुदायबाट मलको व्यापक माग आइरहेको छ । तर माग र आपूर्तिमा ठूलो ग्याप छ ।’
सूचनामा स्थानीय तहबाट सिफारिस भएका सहकारीहरुलाई कृषि सामग्री संस्थानलगायतका सरकारी निकायले प्राप्त भएको सिमित परिमाणका डिएपी, यूरिया र पोटास वितरण गर्ने गरेको तर सहकारी संस्थाले सो मल पारदर्शिता, नैतिकता, इमान्दारिता र प्रभावकारितालाई हेक्का राखी वितरण गर्नुपर्छ ।’
कार्यालयले कसैले अनुदानको मलमा अनियमितता गरेको सूचना वा जानकारी पाएमा सोको सूचना दिन पनि सर्वसाधारणसंग अनुरोध गरेको छ । ‘कतै कसैले त्यस्तो अनियमितता गरेको पाइए ह्वाट्अप नम्बर ९८५५००७७७७ मा मेसेजमार्फत सूचना दिनुहोला ।’अनुदानको मल वितरणको जिम्मा पाएका सहकारी संस्थाका संचालकहरुले अनियमिता गरेको गुनासो बढेपछि कार्यालयले अनुगमन गर्ने भएको हो ।कृषि सामग्री कम्पनी लिमिटेडको वार्षिक रिपोर्ट अनुसार, बारा जिल्लामा हाल १ सय ७६ वटा कृषि र बचत तथा ऋण सहकारी संस्थाहरूमार्फत किसानहरुको लागि अनुदानको रासायनिक मल वितरण कार्य हुदैआएको छ ।


















