सिमरा,मधेश क्रिकेट लिगको पहिलो संस्करणको उपाधि बाराले उचालेको छ । वीरगञ्जको नारायणी रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा सप्तरीलाई ६ विकेटले पराजित गर्दै बाराले उपाधि उचालेको हो ।फाइनल खेलमा टस जितेर बलिङ रोजेको बाराले सप्तरीलाई ९३ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा सप्तरीले सबै विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको बाराले १४.३ ओभरमा जित हासिल गरेको थियो ।
लिग आधारमा खेलाइएको प्रतिस्पर्धामा सबै जिल्लाले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए । लिग चरणको अंक तालिकामा शीर्ष चारमा रहेका टोलीले सेमिफाइनल खेलेका थिए भने सेमिफाइनल जित्ने टोली फाइनलमा प्रवेश गरेका थिए ।
विजेता र उपविजेता टिमका खेलाडीलाई मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, मधेश प्रदेशसभा सदस्य श्यामप्रसाद पटेल, बिना शर्मा, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव शिवजी गुप्ता, नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा हालका मेनेजर विनोद दासलगायतले पुरस्कार वितरण गरेका थिए ।जेठ ६ गतेदेखि आयोजना गरिएको प्रतियोगिताको प्लेयर अफ दि सिरिज र फाइनल खेलको प्लेयर अफ दि म्याच बाराका पवन सर्राफ घोषित भएका छन् । यसैगरी उत्कृष्ट बलर बाराका अरनिको यादव र उत्कृष्ट ब्याटर सिरहाका रुपेशकुमार सिंह घोषित भए ।मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । कलैयाको सिद्धेश्वर खेल मैदान र वीरगञ्जको नारायणी रंगशालामा प्रतियोगिता आयोजना गरिएको थियो ।



















