काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”ले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा बिहीवार आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।उहाँले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवम् हुलदङ्गा एवम् आतङ्कको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने पनि बताउनुभयो ।उहाँले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुको सिप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।उहाँले वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धनको नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । उहाँले प्रेस सम्बन्धी आवश्यक कानुनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै नीतिगत र कानुनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले रेडियो सञ्चालक एवम् नियमनको जिम्मेवारी तहगत रुपमा सङ्घ, प्रदेश र पालिकालाई प्रत्यायोजित गरेको भए पनि संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचिको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानुनी प्रावधानहरु पर्याप्त नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘सञ्चारकर्मीहरुको सिप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न सङ्घ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवम् हुलदङ्गा एवम् आतङ्कको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’प्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता र सवलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफ्नो तेस्रो पटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरु थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताउनुभयो ।




















