पुुष्पराज खतिवडा
मनहर्वा,सरस्वतीलाई विद्याको देवी मानिन्छ । सरस्वतीको पूजा गर्दा शिक्षा र ज्ञान प्राप्त हुने विश्वास पनि छ । पूजाकै दिन विद्यालयमा भर्ना हुने बालबालिकाहरुको पढाइ राम्रो हुने धेरै अभिभावकहरुमा विश्वास पनि रहेको छ । कतिपय विद्यालयमा यही दिनमा विद्यार्थी भर्ना गरेर उनीहरुलाई अक्षर सिकाउने (अक्षर सिकाउने) अक्षराम्भ गर्ने चलन पनि छ । त्यसैले माघ शुक्ल पंचमीका दिन विद्यालयहरुमा धुमधामका साथ सरस्वतीको पूजा गर्ने गरिन्छ ।
तर बाराको जीतपुरसिमरा उपमहानगाारपालिका वडा नम्बर १८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय भने यो वर्ष सरस्वती पूजाको दिन आइतवार सुनसान थियो । शिक्षक, विद्यार्थी र अभिभावक कोही पनि विद्यालयमा उपस्थित थिएनन ।
सरस्वती पूजाका दिन विद्यालय बन्द गरिएको र सामान्य औपचारिकता समेत नदेखाएको भन्दै विद्यालयका अभिभावक असन्तुष्ट बनेका छन् । विद्यालय र विद्यार्थीका लागि विशेष महत्वका रुपमा रहेको पर्वमा पूजा कार्यक्रम नगरिएपछि स्थानीय अभिभावक रुष्ट बनेका हुन् । कोभिड संक्रमणको कारण देखाउदै विद्यालयमा पूजाको कुनै कार्यक्रम आयोजना नगरिएको विद्यालय प्रशासनले जनाएको छ।
यसअघि विद्यालयमा अभिभावहरुको समेत सहभागितामा विद्यालयमा बर्षेनी पूजा कार्यक्रम आयोजना हुँदै आएको थियो । यसपटक पूजाको दिन विद्यालय सुनसान पारेर विद्यालय प्रशासन र व्यवस्थापन समितिले त्रुटी गरेको स्थानीय अनिता क्षेत्रीले बताउनु भयो । “चारैतिरका स्कुलमा सरस्वती पूजा भइरहेको छ, उहाँले भन्नुभयो, तर बडहर्वाका बालबालिकाले विद्यालयमा पूजा गर्न पाएनन ।
कोभिडको कारण हो भने पनि आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर भएपनि पूजा गर्न सकिन्थ्यो, अघिपछि नियमित खुलेको विद्यालय सरस्वती पूजाको दिनमा चाँही किन बन्द भयो ।’ उहाँले प्रश्न गर्नुभयो ।
त्यस्तै अर्का अभिभावक प्रदिप लामिछानेले पनि पूजा कार्यक्रम नगरेर विद्यालय प्रशासनले गैह्जिम्मेवारिपना देखाएको आरोप लगाउनुभयो । गाउँका अन्य सामुदायिक र निजी विद्यालयमा धुमधामसँग सरस्वती पूजा भइहेको छ, लामिछानेले भन्नुभयो, कोरोनाको नाममा पूजा नै नगर्नु विद्यार्थीको भावना र विद्यालयको. परम्परा विपरीत हो ।’ उहाँले पनि सरस्वतीको पूजा नगरेर बडहर्वा स्कुलका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले राम्रो काम नगरेको बताउनुभयो । जस्तोसुकै कारण भएपनि विद्यार्थीहरुले पूजा गर्ने सामान्य वातावरण विद्यालयले तयार पारिदिनु पर्ने उहाँको भनाइ ।
यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य विमलराज भारतीले अघिल्ला वर्षहरुमा गाउँभरिका बालबालिका र अभिभावहरु भेला भएर विद्यालयमा पूजा गर्ने गरेको सुनाउँदै यसपटक पूजाको सामान्य कार्यक्रम समेत नगरेर विद्यालयले लापरबाही गरेको बताउनु भयो । ‘दुई दिनअघिसम्म विद्यालय खुलेकै थियो, पूजाको एक दिन पनि खोलेको भए झन राम्रो हुन्थ्यो ।’ भारतीले भन्नुभयो ।
यता विद्यालयका प्रधानाध्यापक रामाधार ठाकुरले कोरोना संक्रमणलाई लक्षित गरेर सरकारले गरेको निर्णयको पालना गर्दै विद्यालय बन्द गरिएकाले पूजा हुन नसकेको भएको छ । भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन बन्द गर्ने सरकारी निर्देशन छ, उहाँले भन्नुभयो, त्यही भएर पूजापाठको कार्यक्रम पनि गरिएन ।’ अन्य विद्यालयमा कसले के गरिरहेका छन्, आफूलाई थाहा नभएको प्रधानअध्यापक ठाकुरले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसादका अनुसार भीडभाड नहुने गरी सांकेतिकरुपमा भएपनि सरस्वती पूजा गर्ने परिपत्र गरिएको बताउनुभयो । ‘कतै भीडभाड गरेर पूजा गरेका छन, कतैका विद्यालय सुनसान छन, उहाँले भन्नुभयो, कसलाई के भनेर कारबाही गर्ने ।’ कारबाही गरे जिल्ला प्रशासन कार्यालयले नै गर्ला ।’