निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा भएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत कार्कीलाई बाराको पचरौता नगरपालिकामा सरुवा गरेको हो ।
अधिकृत कार्कीको स्थानमा मन्त्रालयले हरिलाल पुरीलाई निजगढ नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । अधिकृत पुरीले निजगढको लागि मन्त्रालयबाट सरुवा पत्र बुझिसकेको र शुक्रवार नै कार्यालयमा हाजिर हुन आउने बताइएको छ ।
यसअघि मकवानपुरको थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव पुरीसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजगढसहित देशभरका ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा हुँदा धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् ।