वीरगन्ज,वीरगन्जबाट आइतबारदेखि रोकिएको युरिया मलको ढुवानी सोमबार साँझदेखि शुरू भएको छ ।

सोमबार कृषि सामग्री कम्पनी लिमिटेड र वीरगन्ज महानगरपालिकाबीच भएको वार्तामा ४ बुँदे सहमति भएसंगै रोकिएको मल ढुवानी शुरु भएको हो । सहमतिसंगै आइतबार किसानले कब्जामा लिएर वीरगन्ज महानगरपालिकामा बुझाएको चार ट्रक युरिया मल सोमबार कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयलाई फिर्ता गरिएको छ ।

वीरगन्ज महानगरपालिका र कृषि सामग्री कम्पनी लिमिटेड बिच भएको वार्तामा सहमति भएपछि किसानले कब्जा गरि बुझाएको चार ट्रक युरिया मल महानगरपालिकाले कम्पनीलाई फिर्ता गरेको हो।वार्तामा यस अघि वीरगन्ज महानगरपालिकाका किसानका लागि छुट्याइएको २७ सय ७१ बोरा मल बाहेक थप ६ हजार बोरा मल यसै साताभित्र उपलब्ध गराउने, यस बाहेक अब भारतको कोलकाता बन्दरगाहबाट आउने मल मध्ये ४ हजार बोरा मल वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउनेर किसानले आइतबार कब्जामा लिएर महानगरपालिकामा बुझाएको मल पनि कम्पनीलाई फिर्ता गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईले हस्ताक्षर गरेका छन् । महानगरसंग सहमति भएसंगै रोकिएको मलको ढुवानी शुरु भएको कार्यालय प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

Leave a Reply