गएको हप्ता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीे पदबाट राजीनामा दिएकै दिन पुनः प्रदेश प्रमुखबाट शपथ लिएर सोही पदमा कायम रहने हदसम्मको खेल खेल्दै सबैलाई चकित बनाएको घटनाले सबैको मन तान्न सफल भयो । त्यसो त एमाले नेता शंकर पोखरेललाई अहिले सोही प्रदेशका सांसद विमला वलीले अपहरणकारीको आरोप लगाउनुभएको छ ।
सत्ता टिकाउन राजीनामा र शपथग्रहणको खेलले नपुगेर सांसदको अपहरण गर्ने र अपहरित व्यक्तिलाई पाँच दिन नजरबन्दमा राख्ने कार्यले एमालेलाई त आक्षेप लाग्छ नै संघीय गणतान्त्रिक व्यवस्थालाई नै बद्नाम बनाउने काम गरेको छ । यता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य वलीकै राजिखुशीमा दाङबाट मुख्यमन्त्रीको निवासमा उहाँलाई पु¥याएको दाबी गर्नुभएको छ । तर विगतमा संघीय सांसद महेश बस्नेतले जसपाका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेरै काठमाडौं ल्याएको आरोप लागिसकेका कारण सत्ताका लागि निन्दनीय खेल खेल्ने अभ्यासले निरन्तरता पाएको त होइन भन्ने गम्भीर प्रश्न यथावत छ । सांसद वलीको पछिल्लो प्रकरणमा उहाँ आफैं पनि दोषी हुनुहुन्छ कि भन्ने आशंका पनि गर्न सकिने ठाउँ नरहेको होइन ।
बीचमा एमालेमै फर्किएको विज्ञप्ति जारी गर्ने सांसद वली एमालेमा बस्ने कि माओवादी केन्द्रमा जाने भन्ने निर्णय गर्ने क्षमताको अभावका कारण पाँच दिन मुख्यमन्त्री पोखरेलको ‘अतिथि’ बन्नुभएको त होइन भन्ने प्रश्न पनि सिर्जना भएको छ । बीचमा प्रकाशित विज्ञप्ति जबरजस्ती हस्ताक्षर गराइएको हो भनेर सांसद वलीले बिहीबार गरेको दाबी पनि त्यति विश्वासयोग्य छैन । सांसदजस्तो पदमा पुगेको व्यक्तिले चाहेको भए अपहरणको अवस्थाबाटै सञ्चारका कुनै पनि विधि अपनाएर बाहिर खबर पु¥याउन सक्नुहुन्थ्यो । उहाँ आफैं एमालेतिर जाने कि माओवादी केन्द्रमा बस्ने भन्ने अनिर्णयको चाहिँ बन्दी भएको हो कि ? यसैबीच सांसद वलीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको भनी भत्र्सना गरेका छन् । पोखरेल सरकार वैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रूपमा सञ्चालित भइआएको उनीहरूको टिप्पणी छ । नेकपा मोओवादी संसदीय दलको व्यानरको पृष्ठभूमिमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीको बारेमा सार्वजनिक गर्दै वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाई राखेको बताउनुभएको छ । यी सबै कुरापछि पनि सांसद वली आफै अनिर्णयको बन्दी हुनुभयो वा बन्धक बनाइयो भन्नेमा अझै आशंका छ ।