वीरगञ्ज,वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि थन्किएका ३ करोडभन्दा बढी मूल्यका उपकरण र मेसिनहरू मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले मर्मत मेसिनहरू मर्मत गरिदिएको हो ।अस्पताल प्रशासन र केन्द्रबीच अस्पतालमा बिग्रिएर थन्किएका मेसिन र उपकरणहरू केन्द्रका प्राविधिकहरूले मर्मत गरिदिने सम्झौता पुस ११ गते भएको थियो । उक्त सम्झौताअनुसार पुस ११ गतेदेखि नै काम थालेका केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरान्त नेतृत्वको ३ जना इन्जिनियरको टोलीले पहिलो चरणमा अस्पतालका ६० भन्दा बढी उपकरण र मेसिनहरू मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिनुभएको छ ।

केन्द्रका बायोमेडिकल इन्जिनियरहरूले पहिलो चरणमा एक हप्तासम्म अस्पतालमै खटेर ६० भन्दा बढी उपकरण मर्मत गरिदिएको र मर्मतपछि ती उपकरणहरू सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।मेसु दासका अनुसार केन्द्रका बायोमेडिकल इन्जिनियरहरूको टोलीले आइसियु वार्ड, एनआइसियु वार्ड, अप्रेसन थियटर, रेडियोलोजी, सिसियु वार्ड लगायत ६ वटा वार्डमा गरी ६० भन्दा बढी मेसिन मर्मत गरिसकेका छन। भेन्टिलेटर, डायलोसिस मेसिन, बेबी वार्मर, फोटो थेरापी मेसिन, एनेस्थेसिया, मेसिन, बबल सिप्याप, ल्याप्रोस्कोपी भिडियो प्रोसेसर, इलेक्ट्रोसर्जिकल युनिट, प्रोटेबल एक्सरे मेसिन लगायतका महंगा मेसिनहरू मर्मत सम्भार गरिएपछि अहिले ती उपकरणहरू प्रयोगमा ल्याइसकिएको दासले बताउनुभएको छ ।

Leave a Reply