सिमरा,बारा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाका आधारमा प्रहरीले करिब ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली गरिएको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना. ४ ख ५६७२ नम्बरको ट्रक सिमरा चोकस्थित राजमार्गमा रोकेर जाँच गर्दा उक्त सामान बरामद गरेको हो ।
ट्रकबाट कपडा, साइकल पाट्र्स, केमिकल, विभिन्न प्रकारका औषधीलगायतका खुद्रा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ५२ लाख ७० हजार ९३ रुपैयाँ रहेको छ ।
हाल ट्रक र सामानलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


















