सिमरा,बाराको अमलेखगन्जमा ट्याङ्कर व्यवसायीहरुका संघ–संस्थाहरूले आन्दोलन जारी राखेका छन ।आन्दोलनकारी ट्याङ्कर व्यवसायीहरू चार सूत्रीय माग राख्दै नेपाल आयल निगम प्रादेशिक कार्यालय, अमलेखगंजअगाडि धर्नामा बसेका हुन ।
आफूहरू पीडित रहेको र माग सुनुवाइ गर्नुपर्ने भन्दै अमलेखगन्ज पेट्रोलियम ढुवानी व्यवसायी संघका सचिव कृष्णबहादुर ठकुरीले निजी ट्याङ्कर व्यवसायीहरूलाई प्राथमिकतामा राखेर काम दिइएकोले आफूहरू बेरोजगार भएको गुनासो गर्नुभएको छ । उहाँले पेट्रोल पम्पहरूले एउटा निजी ट्याङ्कर मात्र राख्न पाउने नियम कार्यान्वयन गरिनुपर्ने माग राखेको सुनाउनुभयो ।
आन्दोलनकारीहरूले ट्याङ्कर रूट व्यवस्थापनदेखि निजी ढुवानी व्यवस्थापनसम्मका विषयमा आफ्नो माग अघि सारेका छन्। उनीहरूले पाइपलाइनबाट पेट्रोल आपूर्ति सुरु भएपछि बरोनी–अमलेखगंजमा सञ्चालनमा रहेका १०४ वटा ट्याङ्करलाई करार सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने र एकल ट्याङ्कर मालिक व्यवसायीहरूलाई समेत करार सम्झौतामा समावेश गरिनुपर्ने माग गरेका छन्।
साथै, ५० लिटरभन्दा बढी इन्धन आपूर्तिको नाममा रहेको दोब्बर प्रकरणलाई खारेज गर्नुपर्ने भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इकाई अमलेखगंज)का इञ्चार्ज सुकबहादुर गुरुङ्गले निगम प्रशासनलाई तत्काल कदम चाल्न दबाब दिदैआएको बताउनुभयो ।यस आन्दोलनमा अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इकाई अमलेखगंज) र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले संयुक्त रूपमा सहभागिता जनाएका छन्।
आन्दोलनकारीहरूले आफ्नो माग समयमै पूरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।