सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयलले यस वर्षको भ्रमणका लागि छुट्याइएको बजेट उपयोग गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहाका विद्यार्थीहरूलाई खेलकुद सामग्री सहयोग गरेको छ ।वडा कार्यालयले भ्रमण नगई उक्त बजेटबाट करिब तीन लाख रुपैयाँ बराबरका खेलकुद सामग्री खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका क्रममा वडा अध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले खेलकुद सामग्री हस्तान्तरण गर्दै विद्यालयमा वर्षेनी १५ लाखभन्दा बढीको अनुदान प्रदान गरिएको र शिशु कक्षादेखि कक्षा १२ सम्म पूर्णरूपमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
यता विद्यालयप्रति निरन्तर सहयोग गर्दै आएका यूवा व्यवसायी तथा समाजसेवी जनक दाहालले विद्यालयलाई एक वर्षका लागि आवश्यक हर्पिक, फिनेल, साबुन, झाडु लगायत सरसफाइ सामग्री उपलब्ध गराउनुभएको छ । विद्यालयलाई नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहको सक्रियतामा घाँस काट्ने मेसिन पनि सहयोग गरिएको छ ।यसै क्रममा विद्यालयले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाभरिबाट दोस्रो स्थान हासिल गर्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक÷शिक्षिका, विद्यार्थी र अभिभावकहरूलाई बधाई दिएको छ ।


















