निजगढ,बीमा कम्पनीहरुले केरा बालीको बीमा गर्न इन्कार गरेपछि मार्कामा परेका निजगढका केरा उत्पादक किसानहरु आन्दोलनमा उत्रिने भएका छन ।निजगढमा शनिवार भएको किसानहरुको भेलाले आगामी भाद्र २२ गतेभित्र बीमा कार्य सुचारु नगरिए सडक आन्दोलन गर्ने निर्णय गरेको हो । नेपाल सरकारको सहयोगमा बीमा समितिमार्फत बीमा कम्पनी र किसानको ८० र २० प्रतिशत रकम लागतमा विगतका वर्षहरुदेखि हुँदै आएको केरा बालीको बीमा कार्य अवरुद्ध भएपछि किसानहरु आन्दोलित भएका हुन ।
पीडित किसानहरुले आइतवार जिल्ला प्रशासन कार्यालय बारा र निजगढ नगरकार्यपालिका कार्यलयमार्फत कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाउने र माग पुरा नभए भाद्र २३ गतेबाट सडक आन्दोलनमा उत्रिने निर्णय भएको बारा फलफूल तथा केरा उत्पादक व्यवसायी संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको आन्दोलन अन्तर्गत २३ गते निजगढस्थित पूर्वपश्चिम राजमार्गमा किसानहरुले कोण सभा र प्रदर्शन गर्ने कार्यक्रम समेत भेलाले निर्धारण गरेको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा साना किसानको लागि मात्रै ८० प्रतिशत अनुदानमा बीमा गर्ने उल्लेख गरेको र साना किसानको मापदण्ड निर्धारण गरेर नपठाएपछि बीमा कम्पनीले यो वर्षको लागि देशभरि नै बाली बीमा गर्न इन्कार गर्दैआएका छन । किसानहरुले सरकारले साना र ठूला किसानको स्पष्ट ब्याख्यासहित मापदण्ड बनाएर बीमा कम्पनीहरुलाई उपलब्ध गराउनुपर्ने माग राखेका छन ।संघले यसअघि साउनमा पनि कृषि मन्त्रालयमा पुगेर बीमा सम्बन्धि समस्या समाधान गर्न तत्कालिन मन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएको तर हालसम्म पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुको विकल्प नभएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
केरा जोन घोषणा भएको निजगढमा हाल करिव १ हजार ८ सय हेक्टर क्षेत्रमा करिव २ हजार किसानले व्यवसायिक रुपमा केरा खेती गर्दैआएका छन । अघिल्लो वर्ष निजगढका करिब ३ सय किसानले केरा बालीको बीमा गरेका थिए । निजगढमा उत्पादन भएको केरा काठमाण्डौं, पोखरा, बुटवल र नारायणगढ जस्ता शहरमा बिक्री हुदैआएको छ ।