कलैया,गढीमाई मेलामा ‘कृषि एक्स्पो गढीमाई–२०८१’मंगलवारबाट शुरु भएको छ । मधेस प्रदेश सरकारकी वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले ‘कृषि एक्स्पो गढीमाई–२०८१’को उद्घाटन गर्नुभएको थियो ।प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउनको लागि मेलामा एक्स्पो संचालन गरिएको आयोजक अध्यक्ष सञ्चिता लामिछानेले बताउनुभयो ।

उद्घाटन कार्यक्रमा बोल्दै राज्यमन्त्री विश्वकर्माले कृषि एक्स्पोसंचालनबाट किसानहरुले लाभ लिनसक्नुपर्ने बताउनुभयो । उहाँले एक्स्पो किसानहरुसंग प्रतक्ष जोडिएकोले मेलामा आउने किसानहरु लाभान्वित हुने बताउनुभयो । मन्त्री विश्वकर्माले यसबाट किसानहरुले पेसामा आवश्यक सीप र ज्ञान प्राप्त गर्ने अवसर पाउने बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाका नगरप्रमुख एवंम गढीमाई मेला मुल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले संघीय या प्रदेश सरकारका कृषि मन्त्रीहरुले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मात्र बजेट दिने गरेको आरोप लगाउनुभयो ।
उहाँले एक्सो आयोजक संस्थाको प्रशंसा गर्दै केन्द्र र प्रदेशको कृषि मन्त्रालयले गर्ननसक्ने काम एउटा गैह्सरकारी संस्थाले गरेकोमा धन्यवाद पनि दिनुभयो । केन्द्र सरकार र प्रदेश सरकारले ठोस नीति नल्याउदा आज हजारौ युवा विदेसिन बाध्य भएको नगर प्रमुख यादवको भनाई थियो ।

कृषि एक्स्पो उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडालगायत मेला व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।एक सातासम्म चल्ने एक्स्पोमा २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने लक्ष्य लिएको कनेक्ट किसानकी अध्यक्ष सञ्चिता लामिछानेले बताउनुभयो ।
आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्नसक्नेछन् ।

एक्स्पोमा कुखुरापालन, माछापालन, पशुालन, डेरीलगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारे जानकारी दिइने बताइएको छ ।निःशुल्क प्रवेश व्यवस्था गरिएको एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत गर्ने साना औजार, मेसिनदेखि डेरी मेसिनरी, पशुपंक्षीपालन, फलफूल खेती र कृषिजन्य उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी गरिने आयोजकले जनाएको छ।कनेक्ट किसान नामक संस्थाको आयोजना गरिएको एक्स्पोमा कृषि सेमिनार कार्यक्रमसमेत राखिएकोले किसानहरुले विज्ञबाट निःशुल्क परामर्श लिनसक्ने बताइएको छ ।

Leave a Reply